तारेकश्वर गाँउपालिकामा एकैदिन तीनवटा स्वास्थ्य भवन उद्घाटन

नुवाकोटको तारकेश्वर गाँउपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले एकैदिन तीनवटा सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रवाह गर्ने भवनको उद्घाटन गर्नुभएको छ ।
भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएर हस्तान्तरणको पखाईमा रहेका तीनवटा भवनलाई अध्यक्ष अधिकारीले उद्घाटन गरेसगैँ सेवा प्रवाह नयाँ भवनबाट सञ्चालनमा ल्याइएको छ ।
उहाँले आज एकै दिन वडा नं ३ मा निर्माण गरिएको तारुका आयुर्वेद औषधालय भवन र तारुका स्वास्थ्य चौकी भवन एंव वडा नं ४ मा निर्माण गरिएको थप बुधसिंह स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै जनतालाई कठिनाईको साथ सेवा दिनुपर्ने बाध्यताका कारण हस्तक्षेप मार्फत भवन उद्घाटन गरेर सञ्चालनमा ल्याउन बाध्य भएको बताउनुभयो ।
अस्थायी एंव साँघुरो संरचनामा रहेर सेवा दिदै आएका स्वास्थ्य सँस्थाहरु सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालनमा ल्याई सेवा प्रवाह र सेवाग्राहीलाई सहज बनाइएको अध्यक्ष अधिकारीको भनाई छ ।

फरक–फरक निर्माण व्यावसायीबाट बनाइएका ती सुविधासम्पन्न भवन एकवर्ष अघिनै सम्पन्न भएपनि ठेकेदार पक्षबाट गाँउपालिका प्रति प्रतिशोध राख्दै सहजिकरण, समन्वय एंव भवन हस्तान्तरणको लागी पालिकाले गरेको आग्रहको वेवास्था गरेपछि अध्यक्ष अधिकारीले ठेकेदारले लगाएको ताला खोलेर भवन उद्घाटन गर्दै सञ्चालनमा ल्याउनुभएको हो ।

“स्थानीय सरकारले जनताको स्वास्थ्य उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौ । सेवा प्रवाहको गुणस्तर बृद्धि र सेवा सहज बनाउन भवन अत्यावश्यक हुने भएकाले निर्माण सम्पन्न गरेर राखिएका भवनलाई पालिकाले स्वामित्वको जिम्मेवारी लिदै सञ्चालनमा ल्याएको हो ।” अध्यक्ष अधिकारीले भन्नुभयो ।
नयाँ भवनबाट दिने सेवाले स्वास्थ्य सँस्थामा औषधिको भण्डारणलाई व्यवस्थित बनाउन र बिरामी जाँच एंव परीक्षणका लागी आवश्यकता अनुसार श्यया (बेड) निर्माण गर्न सहज बनेको छ । त्यसबाट बिरामीले पाउने सेवा गुणस्तरीय एंव प्रभावकारी हुने उहाँको विश्वास छ ।
अध्यक्ष अधिकारीले उद्घाटन गरेसगैँ सञ्चालनमा ल्याइएको तीनवटै भवन धादिङ स्थित सघन शहरी तथा भवन निर्माण योजना कार्यालयले ठेक्का लगाएर बनाइएको हो । प्रत्येक भवनको निर्माणमा दुई करोड भन्दा बढी लगानी भएको छ ।

भवन निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायीले पालिकासंग गर्नुपर्ने समन्वय एंव सहजिकरण, बहन गर्नुपर्ने उत्तरदायित्व, निर्माण सम्पन्न पश्चात उद्घाटन लगायतमा प्रतिशोध राख्दै सम्पर्कमा नआएपछि पालिका अध्यक्षले बिरामीले सेवा लिने क्रममा पाएको कष्टपूर्ण अबस्थालाई मध्येनजर गर्दै हस्तक्षेप गर्न बाध्य भएको हो ।
भवन उद्घाटन कार्यक्रममा गाँउपालिका अध्यक्ष सहित वडा नं १ का अध्यक्ष चक्र तामाङ, ३ का अध्यक्ष सूर्यमान श्रेष्ठ, ४ का अध्यक्ष हरिबहादुर पौडेलले जनताको स्वास्थ्य सुरक्षाको लागी गाँउपालिकाले बजेट तथा कार्यक्रममा प्राथमिकता दिएर विगतको तुलनामा निकै सुधार गर्दै आएको बताउनुभयो ।

यस्तै, वडा नं ३ मा निर्माण गरिएका तारुका आयुर्वेद औषधालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुर्वेद तथा बैकल्पिक चिकित्सालय देवीघाटका प्रमुख डा.नरेन्द्रप्रसाद गिरीले तारकेश्वर गाँउपालिकाले पालिकाबासीको स्वास्थ्य सेवालाई विभिन्न कार्यक्रम मार्फत दिदै आएको सेवा प्रवाहको प्रशंसा गर्नुभयो ।
पालिकाबासी ज्येष्ठनागरिक, महिला तथा बालबालिका, युवा लगायतलाई भिन्दा भिन्दै कार्यक्रम मार्फत रोग लाग्नु भन्दा अघि नै सचेतना गर्ने, रोग पहिचानको लागी जाँच गर्ने, रोग लागेमा उपचार सेवा र औषधि उपलब्ध गराउने लगायत कार्य उदाहरणीय रहेको बैकल्पिक चिकित्सालयका प्रमुख डा.गिरीको भनाई छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस