कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रलाई सशक्त बनाउँदै अगाडि बढ्नुपर्ने बताएका छन्।
बुधबार ककनी गाउँपालिका–४ र ६ नं वडा कार्यसमितिले ओख्लेमा आयोजना गरेको ‘प्रत्यक्ष संवाद तथा भेटघाट’ कार्यक्रममा बोल्दै डा. महतले परम्परागत कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउँदै उत्पादन वृद्धि गर्न र त्यसैका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सके देशको आर्थिक समृद्धि सम्भव हुने धारणा राखे।
उहाँले भने, “युवालाई केन्द्रमा राखेर कृषि प्रणालीलाई सुदृढ बनाउँदै आधुनिकता र व्यवसायिकताको दिशामा अगाडि बढ्नुपर्छ। स्थानीय उत्पादनलाई उपभोग गर्न सकिने आन्तरिक तथा बाह्य पर्यटन कार्यक्रम ल्याउन आवश्यक छ। प्रकृतिको निःशुल्क उपहार र हाम्रा पुर्खाले निर्माण गरेका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारमार्फत आम्दानी गर्न सकिन्छ।”
सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा रहेको सन्दर्भमा, पूर्व अर्थमन्त्री महतले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर दिने नीति आवश्यक रहेको बताए।
उहाँले प्रि–बजेट छलफलको सन्दर्भमा उच्च शिक्षा अध्ययनको नाममा ठूलो रकम खर्चेर विदेश जानुपर्ने बाध्यता अन्त्य गरी स्वदेशमै गुणस्तरीय अध्ययनको वातावरण तयार गर्न र युवालाई सीप, क्षमता, अनुदान र सहायतामार्फत उद्यमशील बनाउन कार्यक्रम समावेश गर्न सुझाव दिएका छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस