भोटेकोशी–कोप्लाङ सडक १० फिट भासिएपछि चार दिनदेखि ठप्प, मालबाहक गाडी नाकामै रोकिए

बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोप्लाङ क्षेत्रमा सडक १० फिट भासिएपछि चार दिनदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। बुधबारदेखि परेको सामान्य वर्षाले तातोपानी नाका जोड्ने १५ फिट चौडाइको उक्त सडकखण्डमध्ये ५ फिट जमिन भासिएको हो।
सडक भासिएपछि सडक डिभिजन कार्यालयले माटो र ढुङ्गा प्रयोग गरेर मर्मतको प्रयास गरे पनि मालबाहक गाडी, यात्रुबाहक बस र अन्य सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। यसै क्रममा शुक्रबार राति ९ बजे राजधानीतर्फ जाँदै गरेको एक विद्युतीय कार सडक भासिएको स्थानबाट भोटेकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय लार्चाका प्रहरी सहायक निरीक्षक नेत्रबहादुर काफ्लेले जानकारी दिनुभयो। कार चालक दावा तामाङ घाइते भई हाल धुलिखेल अस्पतालमा उपचाररत छन्।
सडक बन्द भएपछि तातोपानी भन्सार कार्यालयबाट पास भएर राजधानी पठाउन लागिएको करिब ५०० विद्युतीय सवारीसाधन भन्सार यार्डमै थन्किएका छन् भने करोडौं मूल्यका सामग्री बोकेका सयौं कन्टेनर पनि बाटोमै रोकिएका छन्। भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले नाका ठप्प हुँदा व्यापार व्यवसायमा गम्भीर असर परेको जानकारी दिनुभयो।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानका अनुसार ठूला भारका मालबाहक र यात्रुबाहक गाडी आउजाउ गर्न नसक्दा व्यापारीहरू अत्यन्त चिन्तित छन्। सडक मर्मत कार्यमा सडक डिभिजन र वडा कार्यालय सक्रिय रहे पनि जमिन भासिने क्रम बढ्दो रहेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो। उहाँले चीनको तिब्बतसँग जोड्ने मुख्य सीमा सडक पूर्णरूपमा अवरुद्ध भएको उल्लेख गर्नुभयो।
उक्त कोप्लाङ खण्ड २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि आएको बाढीले कमजोर बनाएको थियो। मर्मतसम्भार नगर्दा हाल सडकको चौडाइ मात्र १५ फिटमा सीमित छ, जसले गर्दा सवारी आवागमन अत्यन्त जोखिमपूर्ण बनेको छ। हाल बर्खा सुरु नहुँदै सडक भासिन थालेको अवस्थामा आगामी दिनमा अझ ठूलो जोखिम निम्तिन सक्ने स्थानीयवासीहरूको गुनासो छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस