नेपाल–जापानबीच कोटेश्वर चोक सुधारका लागि ऋण सम्झौता
नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना अघि बढाउन ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहमा दुई देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
जापान सरकारले जाइकामार्फत ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ।
आयोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसबाट काठमाडौँ, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै चल्ने सवारीको आवागमन सहज हुने र उपत्यकाको ट्राफिक जाम न्यूनीकरणमा महत्वपूर्ण प्रभाव पर्ने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले कार्यान्वयन गर्नेछ।
ऋण सहायतासम्बन्धी एक्सचेन्ज अफ नोट्समा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्। त्यस्तै ऋण सम्झौतामा सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले दस्तखत गरेका हुन्।
समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री खनाल, जापानी राजदूत मायदा तथा जाइका प्रतिनिधि माजुकीले नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। राजदूत मायदाले परियोजनाले उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।
अर्थमन्त्री खनालले काठमाडौं उपत्यकाका जामयुक्त प्रमुख क्षेत्रहरूको दिगो सुधारका लागि अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने बताए।
कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
क्याटेगोरी : अर्थतन्त्र























प्रतिक्रिया दिनुहोस