मन्त्री तिमिल्सिनाको प्रश्नपछि जनताको प्रतिप्रश्न : “नुवाकोटले बजेट किन पाएन ?”
“के सबै बजेट मन्त्रीहरूको आफ्नै जिल्लामा मात्रै खन्याउनु नै राजनीति हो ?” सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना को यो अभिव्यक्ति नुवाकोट अनलाइनमार्फत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। विशेषगरी उक्त भिडियोमा आएका अधिकांश प्रतिक्रियाहरू भने आलोचनात्मक देखिएका छन्।मन्त्री तिमिल्सिनाले बजेटलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्नुपर्ने धारणा राखे पनि टिप्पणी गर्ने धेरैले नुवाकोटले अपेक्षाअनुसार बजेट प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। मन्त्री पदमा पुगेपछि जिल्लाले उल्लेखनीय बजेट र विकास आयोजना पाउने अपेक्षा गरिए पनि त्यसअनुसार परिणाम नदेखिएको उनीहरूको भनाइ छ।

भिडियोमा आएका प्रतिक्रियाहरूमा नुवाकोटका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधार विकासका योजनाहरूले पर्याप्त बजेट नपाएको विषय प्रमुख रूपमा उठाइएको छ। कतिपयले जिल्लाका आवश्यक आयोजना ओझेलमा परेको आरोप लगाएका छन् भने केहीले मन्त्री तिमिल्सिनामाथि अन्य जिल्लासँग बजेट साटासाट गरेको आरोपसमेत लगाएका छन्।
सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रिया हरूले जनअसन्तुष्टिको स्तर झन् स्पष्ट पारेका छन्। एक प्रयोगकर्ताले “जिल्लामा बजेट ल्याउन नसकेपछि जे भने पनि भइहाल्यो नि, भ्या भ्या गर्नेहरू छँदैछन्” भन्दै टिप्पणी गरेका छन् भने अर्काले “हाल्न नसकेपछि आफूलाई बचाउ त गर्नुपर्यो, लेखेका छन्।
त्यस्तै, “नाटक गर्दै, ७७ जिल्लामा भाग लाग्दा एक जिल्लाका लागि न्यूनतम बजेटसम्म हाल्न सकेनौं, ठूला कुरा नगरौं हुन्छ” भन्ने टिप्पणी पनि व्यापक रूपमा रुचाइएको देखिन्छ। अर्को प्रतिक्रियामा “हाल्न सक्नुहुन्न गफ, चुनाव अगाडि अरुले हालेको बजेट सरकारको पैसा हालेको भनी अहिले टिप्पणी गर्ने हालत पनि रहेन” भन्दै असन्तुष्टि पोखिएको छ।
कतिपयले “नाटक नगर्नु होला मन्त्रीज्यू”, “बजेट नल्याउने भए केका फूर्ति लगाउनु” जस्ता कडा टिप्पणीसमेत गरेका छन्। यस्ता प्रतिक्रियाले नुवाकोटमा बजेट विनियोजनप्रति नागरिकहरूको अपेक्षा उच्च रहेको र त्यसअनुसार उपलब्धि नदेखिँदा असन्तुष्टि बढेको संकेत गर्छ।
मन्त्री तिमिल्सिनाको भिडियोमा आएको कमेन्टहरु

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएसँगै नुवाकोटमा बजेट वितरणको विषयले नयाँ बहस जन्माएको छ। मन्त्री तिमिल्सिनाको प्रश्नले त्यस बहसलाई अझ तीव्र बनाएको छ भने सामाजिक सञ्जालमा उठेका प्रतिक्रियाहरूले “नुवाकोटले अपेक्षा गरेअनुसार बजेट किन पाएन ?” भन्ने प्रश्नलाई थप बलियो बनाएका छन्। आगामी दिनमा बजेट कार्यान्वयन र जिल्लामा देखिने विकास गतिविधिले नै यी प्रश्नहरूको जवाफ दिने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार






















प्रतिक्रिया दिनुहोस