पासाङ ल्हामु राजमार्गको तिनपिप्ले- रानिपौवा निर्माण कार्य सुरु
दिपेश न्यौपाने /ककनी-
लामो समयदेखि अबरुद्ध रहेको पासाङ ल्हामु राजमार्गको तिनपिप्ले- रानिपौवा निर्माण कार्य सुरु भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष सज्जन तामाङले (शुक्रबार) निर्माण कार्य को उद्घाटन गरेका हुन ।
उद्घाटन गर्दै अध्यक्ष तामाङले मानव जिवनस्तरसङ जोडिएको सडक मार्ग ९ वर्षदेखि लथालिङ्ग अबस्थामा रहदा नागरिकले निकै नै सास्ती खेप्नु परेकोले निर्माण कार्य समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । समय र गुणस्तरलाई ख्यालमा राख्दै काम गर्न समेत अनुरोध गरेका छ्न ।
निर्माण सुरु भएको लामो अबधिसम्म पनि निर्माण हुन नसकेको राजमार्ग अन्तर्गतको तिनपिप्ले-पिपलटार सडक मध्ये पहिलो चरणमा तिनपिप्ले देखि रानिपौवासम्मको लागि निर्माण को जिम्मा मोतीदान कन्स्ट्रक्सन सेवाले ८३ करोड ३१ लाख रुपैयाँमा पाएकाे हाे । निर्माण ठेक्का अवधि दुई वर्ष रहेको छ ।
२०८० फागुन ३० गते सम्झौता भएको र २०८२ फागुन २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । पहिलाे चरणमा १४.५ किलोमीटर कालोपत्रे सहित निर्माण हुने भएको छ । रानिपौवा बजारबाट २ किलोमीटर तलसम्म सडक कालोपत्रे गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।
बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी भने ५५.५ किमि हो । उक्त दूरीमध्ये केही खण्डमा काम भइसकेको छ । उक्त सडकको सुरु ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का गरिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर सात पटक म्याद थप्दा गर्दा पनि काम सकिएन ।
काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिने इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा सम्झौता तोडिएको थियो । ठेक्का तोडेसँगै तिनलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । जसअनुसार उक्त कम्पनीलाई ०७९ भदौ ८ देखि ०८२ भदौ ७ सम्म कालोसूचीमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस